गति छाड्या छैन



बिरानो देश आए पनि, मैले गति छाड्या छैन !
कानमा मुन्द्रा लाए पनि, मैले गति छाड्या छैन !!

रोदी घरमा दोहोरी नि, एकादेशको कथा भयो !
तर डिस्को धाए पनि, मैले गति छाड्या छैन !!

सुनिँदैन बिनायो र मुर्चुंगाको धून यहाँ !
तर र्‍याप गाए पनि, मैले गति छाड्या छैन !!

साथीभाइ जम्मा हुँदा, खोलो बग्छ मदिराको !
तर, सँगै खाए पनि, मैले गति छाड्या छैन !!

रुप हेर्दा परी लाग्ने, कति राम्रा गोरीहरु !
तर साथ पाए पनि, मैले गति छाड्या छैन !!

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

देश खारेज गरौं !

अब भाषा, संस्कृति र भेष खारेज गरौं !

बल्ल भयो सुरुवात, शेष खारेज गरौं !!


अपराधी र हत्यारालाई, छुट दिनुपर्छ !

अदालतमा विचाराधीन, केस खारेज गरौं !!


छुट्टै प्रदेश माग्नेहरुको, बोलवाला छ अहिले !

छुट्याएर नेपालबाट, मधेस खारेज गरौं !!


के हुन्छ र पहिचानले, मेट्दै जानुपर्छ !

ढिलो चाँडो यसैगरी, देश खारेज गरौं !!

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

सराप्छ कि !!

वर्षा मास उर्लिआउने, खहराले सराप्छ कि !

सधैं शितल बनाइदिने, छहराले सराप्छ कि !!


घाँस, दाउरा, मेलापात, सँगै हुन्थ्यौं सधैंभरि !
नपाउँदा देख्न अचेल, पहराले सराप्छ कि !!


बनाइन्थ्यो थाँग्रो कति, काँक्रा, फर्सी लौकालाई !

अहिले भूईंमै लत्रिएका, लहराले सराप्छ कि !!


ठूला ठूला महलको, अभिलाषा बोकी हिँड्दा !

दिएकैथ्यो सधैं ओत, टहराले सराप्छ कि !!


  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS