दशैं


हुनेलाई सधैँ उस्तै,
खुसीसँगै मोज दशैँ !

देखाउने चाड जस्तै,
थरिथरि भोज दशैँ !!

नहुनेलाई खान निस्तै,
वर्ष दिनको बोझ दशैँ !!

घाँटी हेरी हाड निलौं,
जस्तो सक्छौ, रोज दशैं !!

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

यहाँ

दुख पाउँछन् चाहिनेभन्दा, जान्नेहरु यहाँ !

सबैलाई आफू जस्तै, ठान्नेहरु यहाँ !!


सधैं पर्छन् पेलिनेमा, सोझा सिधामात्रै !

अह्राउनेका सबै कुरा, मान्नेहरु यहाँ !!


हुनैपर्छ सोच्न बाध्य, परिश्रमी पनि !

अघि सरी गाह्रो काम, छान्नेहरु यहाँ !!


हिँडनुपर्छ रुँदै रुँदै, उपकारी बन्दा !

फसेकालाई हात समाइ, तान्नेहरु यहाँ !!


पछुताउँछन् धोखा पाइ, रुन्छन् एकान्तमा !

चरित्रवान बन्न मनलाई, बान्नेहरु यहाँ !!


कहलिन्छन् महान् उनै, हुन्छ जयजय !

छाडिएको साँढे जस्तै, हान्नेहरु यहाँ !!



  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

गजल लेखेँ


गरीवीले दुःख पा'को, नलजाई गजल लेखेँ !
गुन्द्रुकसँग ढिँडो खा'को, नलजाई गजल लेखेँ !!

राम्रो लाउन गरीवलाई, आउनै पर्ने दशैं !
टालीटाली लुगा ला'को, नलजाई गजल लेखेँ !!

आधापेटमै रमाउने, मुस्किल कस्तो छाक टार्न !
छिमेकीको पर्म गा'को, नलजाई गजल लेखेँ !!

वर्षामास रातैभरि, ओत लाग्न कति गाह्रो !
घरको छाना खरले छा'को, नलजाई गजल लेखेँ !!

कहाँ पाउनु धानखेत, पाखोबारी नाम मात्रको !
जोत्नलाई गोरु दा'को नलजाई गजल लेखेँ !!

कहिले घाँस कहिले दाउरा, मेलापात कतिकति !
भोकभोकै जंगल धा'को, नलजाई गजल लेखेँ !!

ठूलो मान्छे बनाउने, रहर कत्रो बाआमाको !
कमाउन सहर आ'को, नलजाई गजल लेखेँ !!

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

रोएँ

भएभरका मौका, चुक्यो अनि रोएँ !

स्वाभिमानी शीर, झुक्यो अनि रोएँ !!


घटेको होइन, जोश र जाँगर !

प्रगतिका पाइला, रुक्यो अनि रोएँ !!


मिहिनेत गर्यो, हात लाग्छ शून्य !

अनुकूलता सबै, लुक्यो अनि रोएँ !!


पुग्दैन आँटेको, खोटी होला कर्म !

समयले भाग्यलाई, थुक्यो अनि रोएँ !!


भएछन् इष्ट, दुःख अनि कष्ट !

पीडाका पोका, फुक्यो अनि रोएँ !!


कठोर वचन, जता गयो उतै !

कोमल मन, दुख्यॊ अनि रोएँ !!


भेटिन्छन् केवल, धोका दिने मात्रै !

विश्वासका मूल, सुक्यो अनि रोएँ !!

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS