स्कूलसँग नाता, टुटेको सम्झिएँ

साथीभाइ सबै, जुटेको सम्झिएँ !
स्कूलसँग नाता, टुटेको सम्झिएँ !!

किनेर खान, दिन्नथे पैसा !
खाजामा मकै, भुटेको सम्झिएँ !!

विहानको पढाइ, बैशाखको गर्मी !
फर्किंदा बरफ, लुटेको सम्झिएँ !!

दिनचर्या थियो, नहरमा नुहाउने !
ठोक्किएर टाउको, फुटेको सम्झिएँ !!

भागेर जंगलमा, मकैडुम्री खाँदा !
असिनाले कत्ति, चुटेको सम्झिएँ !!

पढाइमा भन्दा, खेल्नैमा ध्यान !
दिनभरि बेन्चमा, उठेको सम्झिएँ !!

उपद्रो सबै, आमाले भन्दा !
ढाडभरि सरले, कुटेको सम्झिएँ !!

एसएलसी दिई, सबै लाखापाखा !
को-कहाँ पुगे, छुटेको सम्झिएँ !!

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

सम्झिएर रुन्न अब

पर्दैन भो देख्दा मलाई, घरको दैलो थुन्न अब !
हाटबजार चोक गल्ली, कतै पनि हुन्न अब !!

सोचेजस्तै सप्तरंगी, हुन्न जीवन थाहा पाएँ !
सस्तो छैन आँसु मेरा, सम्झिएर रुन्न अब !!

सुख-दुःख आँसु-हासो, त्यसैले त जिन्दगी छ !
जति पीर परोस् अझै, आँसुले मन धुन्न अब !!

ढुक्क भई हिँड तिमी, छेक्नेछैन बाटो कहिल्यै !
सत्य-सत्य धरोधर्म, तिमीलाई छुन्न अब !!

होलान् दुःख तिम्रा पनि, मुटुभित्र चोट अनेक !
छाडिदेऊ षडयन्त्रका, अनेक ताना बुन्न अब !!

साँचो प्रेमको बदलामा, उपहास सहुँ कति !
तय गर मार्ग आफैं, दिएँ मौका चुन्न अब !!

औंसीमात्र कहाँ होला, पूर्णिमा नि आउँछ पक्कै !
विरहका मेरा भाका, पर्दैन भो सुन्न अब !!

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS