
गति छाड्या छैन

देश खारेज गरौं !
अब भाषा, संस्कृति र भेष खारेज गरौं ! अपराधी र हत्यारालाई, छुट दिनुपर्छ ! अदालतमा विचाराधीन, केस खारेज गरौं !! छुट्टै प्रदेश माग्नेहरुको, बोलवाला छ अहिले ! छुट्याएर नेपालबाट, मधेस खारेज गरौं !! के हुन्छ र पहिचानले, मेट्दै जानुपर्छ ! ढिलो चाँडो यसैगरी, देश खारेज गरौं !!
सराप्छ कि !!
वर्षा मास उर्लिआउने, खहराले सराप्छ कि ! सधैं शितल बनाइदिने, छहराले सराप्छ कि !!
बनाइन्थ्यो थाँग्रो कति, काँक्रा, फर्सी लौकालाई !
अहिले भूईंमै लत्रिएका, लहराले सराप्छ कि !!
ठूला ठूला महलको, अभिलाषा बोकी हिँड्दा !
दिएकैथ्यो सधैं ओत, टहराले सराप्छ कि !!
दशैं
यहाँ
दुख पाउँछन् चाहिनेभन्दा, जान्नेहरु यहाँ ! सबैलाई आफू जस्तै, ठान्नेहरु यहाँ !! सधैं पर्छन् पेलिनेमा, सोझा सिधामात्रै ! अह्राउनेका सबै कुरा, मान्नेहरु यहाँ !! हुनैपर्छ सोच्न बाध्य, परिश्रमी पनि ! अघि सरी गाह्रो काम, छान्नेहरु यहाँ !! हिँडनुपर्छ रुँदै रुँदै, उपकारी बन्दा ! फसेकालाई हात समाइ, तान्नेहरु यहाँ !! पछुताउँछन् धोखा पाइ, रुन्छन् एकान्तमा ! चरित्रवान बन्न मनलाई, बान्नेहरु यहाँ !! कहलिन्छन् महान् उनै, हुन्छ जयजय ! छाडिएको साँढे जस्तै, हान्नेहरु यहाँ !!
गजल लेखेँ
रोएँ
भएभरका मौका, चुक्यो अनि रोएँ !
स्वाभिमानी शीर, झुक्यो अनि रोएँ !!
घटेको होइन, जोश र जाँगर !
प्रगतिका पाइला, रुक्यो अनि रोएँ !!
मिहिनेत गर्यो, हात लाग्छ शून्य !
अनुकूलता सबै, लुक्यो अनि रोएँ !!
पुग्दैन आँटेको, खोटी होला कर्म !
समयले भाग्यलाई, थुक्यो अनि रोएँ !!
भएछन् इष्ट, दुःख अनि कष्ट !
पीडाका पोका, फुक्यो अनि रोएँ !!
कठोर वचन, जता गयो उतै !
कोमल मन, दुख्यॊ अनि रोएँ !!
भेटिन्छन् केवल, धोका दिने मात्रै !
विश्वासका मूल, सुक्यो अनि रोएँ !!
गजल लेखेँ
दंग्याएर मलाई तिमी, ठुस्किएको गजल लेखेँ ! फकाउँदा मैले अनि, मस्किएको गजल लेखेँ !! हात समाइ बजारमा, हिँड्या देख्दा बाआमाले ! डरै डरले मुखाकृति, खस्किएको गजल लेखेँ !! भेट्ने निहुँमा मेलापात, कहिलेकाहीँ वनभोज जाँदा ! भान्से बसी खानेकुरा, पस्किएको गजल लेखेँ !! सहरबाट घर आउन, वाचाभन्दा ढिला हुँदा ! सम्झिएर मुटु तिम्रो, चस्किएको गजल लेखेँ !! पर्खि बस्थ्यौ चौतारीमा, भेट नहुँदा मुर्मुरिन्थ्यौ ! सपनीमा मलाई देख्दा, झस्किएको गजल लेखेँ !!
बिर्सियौ कि
सक्सकाएको बिर्सियौ कि !
भेट्नलाई घरको ढोका,
ढक्ढकाएको बिर्सियौ कि !
सोधीखोजी गर्थे हामीलाई,
अक्मकाएको बिर्सियौ कि !
डर मानी झूठ बोल्दा,
भक्भकाएको बिर्सियौ कि !
निदाएथ्यौ काखमा मेरो,
झक्झकाएको बिर्सियौ कि !
जिउको धुलो पालैपालो,
टक्टकाएको बिर्सियौ कि !
अचेल !
तिम्रा बारे बजारमा, हल्ला अनेक सुन्छु अचेल !
पत्याउनै गाह्रो हुन्छ, दुबै कान थुन्छु अचेल !!
कुरा काट्छन् अनेथरि, खोज्छन् भन्न मलाई नै !
देखाउन चोखो तिम्लाई, ताना अनेक बुन्छु अचेल !!
खुच्चिङ भन्छन् कतिपय, सही अझै थाहा छैन !
दोष मेरो हो कि तिम्रो, मनमनै गुन्छु अचेल !!
भन्नेहरु भन्छन् केके, साँच्चै हो वा आरोपमात्रै !
देखाउँछु सबलाई खुसी, भित्र धेरै रुन्छु अचेल !!
आज एउटासँग देखे, भोलि अर्कैसँग भन्छन् !
सताउँछ यादले अनि, आँसुले मन धुन्छु अचेल !!
दोष छैन मेरो तर, तिम्रै कारण दोषीजस्तै !
घृणा पाउँछु सबैबाट, भट्टीमा नै हुन्छु अचेल !!
पराइ भए मित्रहरु, कस्तो गल्ती गर्र्यौ कुन्नि !
एक्लो देख्छु आफूलाई, साथी रक्सी चुन्छु अचेल !!
आउँला
भड्किन दिन्न, रोकेर आउँला !!
नजानु कतै, पर्खेर बस्नु !
भेट्नलाई दिन, तोकेर आउँला !!
लड्दै उठ्दै, हातपाउ टेकी !
उफ्रँदै टाउको, ठोकेर आउँला !!
भूलेमा बाटो, गर्छु सोधखोज !
घरको ठेगाना, घोकेर आउँला !!
लाग्छ डर, देख्लान् भन्ने !
होलान् अरु, खोकेर आउँला !!
तीनपल्ट ढोका, ढकढक गर्छु !
लजाउँदै जिब्रो, टोकेर आउँला !!
होला
मुटु टुक्रेजस्तै भयो, माया नपाएर होला ! जुनतारा दिउँला भनी, कसम नखाएर होला !! हरियाली वन पाखा, देख्छु सबै उजाड ! शून्य भयो चौतारी, तिमी नआएर होला !! पखिर्रहेछु अझै पनि, मरिसक्या छैन आशा ! हुनै छाड्यो भेट, तिम्ले नचाहेर होला !! दिन्न दोष तिमीलाई, जानिएन माया गर्न ! दिनैपिच्छे सुक्न थालेँ, भेट्न नधाएर होला !! माया भन्ने कस्तो, बनाइदिने रै'छ रोगी ! एक्लै बसी विरहका, गीत नगाएर होला !!
भुल्दिन म
प्रसव हुँदा पोखिएका, खुन भुल्दिन म ! दश धारा चुसाएको, थुन भुल्दिन म !! बाआमा नै पहिलो गुरु, क ख चिनाएथे ! स्लोक भन्दै पढाएको, धुन भुल्दिन म !! बाल्यकालमा जिद्दि कस्तो, माग कतिकति ! अभाव हुनै नदिएको, गुण भुल्दिन म !! घरबाटै रासन पानी, माया पनि कस्तो ! पठाएको दाल चामल, नुन भुल्दिन म !! इच्छाहरु अनेकौं छन्, बाआमाका कठै ! पढाउन बेचेका ती, सुन भुल्दिन म !!
फर्की हेर्दा
अर्थहीन नाता मात्रै, गाँसिएछ फर्की हेर्दा ! उनकॊ फोटो बेकारमा, टाँसिएछ फर्की हेर्दा !! धरातल आफैं उनले, भुलिदिइन् मैले होइन ! बेला नभई मध्यरातमै, बासिएछ फर्की हेर्दा !! जुन खोज्न पातालमा, खनिरहिन् सधैं उनले ! सपनीको महल पनि, भासिएछ फर्की हेर्दा !! लोभलाग्दो छुट्टै सुन्दर, संसारको इच्छा थियो ! संगालेका रहर समेत, मासिएछ फर्किहेर्दा !! मनभित्र धेरै जोडेँ, गगनचुम्बी महल पनि ! मक्किएका काठ जस्तै, नासिएछ फर्की हेर्दा !! रहरहरु अनेक थिए, केवल मन मस्तिष्कमा ! थाकिसक्या घाउ समेत, तासिएछ फर्की हेर्दा !! सर्वथोक ठान्थे उनलाई, भूल्थेँ सारा पीरहरु ! पीडा लुकाई अन्जानमै, हाँसिएछ फर्की हेर्दा !!
आएनछ गणतन्त्र
भोकालाई अघाइ दिन, आएनछ गणतन्त्र ! दुःख-कष्ट भगाइ दिन, आएनछ गणतन्त्र !! पीरव्यथा जनताका, सुन्नेसमेत कोही भएनन् ! निमुखालाई सघाइ दिन, आएनछ गणतन्त्र !! गरीवको आङमा हेर, छैन ढाक्ने लुगा पनि ! नांगालाई लगाइ दिन, आएनछ गणतन्त्र !! स्वार्थी भए नेताहरु, पेवा ठाने देशलाई ! स्वार्थलाई बगाइ दिन, आएनछ गणतन्त्र !! निराशा पो बढ्यो झनै, कस्तो रै'छ गणतन्त्र ! जोश-जाँगर जगाइ दिन, आएनछ गणतन्त्र !!
गइन् उनी
फर्काउन बाटो मैले, घेरे पनि गइन् उनी ! अह्राएका सबै कुरा, टेरे पनि गइन् उनी !! सँगै जिउने सँगै मर्ने, कसम पनि खाइयो ! जतिसुकै चिठ्ठी पत्र, केरे पनि गइन् उनी !! दंग्याएझैं लाग्या थियो, ठुस्किएर जाँदा ! दोबाटोमा बसी जति, हेरे पनि गइन् उनी !! बाँडेकै हो भएजति, भेट हुँदा मनका कुरा ! धोखा दिन्न भनीभनी, खेरे पनि गइन् उनी !! बाँकी थे'न उनका इच्छा, पूरा गर्न मैले ! मौका मिल्दा अँगालोमै, बेरे पनि गइन् उनी !!
स्कूलसँग नाता, टुटेको सम्झिएँ
साथीभाइ सबै, जुटेको सम्झिएँ !
स्कूलसँग नाता, टुटेको सम्झिएँ !!
किनेर खान, दिन्नथे पैसा !
खाजामा मकै, भुटेको सम्झिएँ !!
विहानको पढाइ, बैशाखको गर्मी !
फर्किंदा बरफ, लुटेको सम्झिएँ !!
दिनचर्या थियो, नहरमा नुहाउने !
ठोक्किएर टाउको, फुटेको सम्झिएँ !!
भागेर जंगलमा, मकैडुम्री खाँदा !
असिनाले कत्ति, चुटेको सम्झिएँ !!
पढाइमा भन्दा, खेल्नैमा ध्यान !
दिनभरि बेन्चमा, उठेको सम्झिएँ !!
उपद्रो सबै, आमाले भन्दा !
ढाडभरि सरले, कुटेको सम्झिएँ !!
एसएलसी दिई, सबै लाखापाखा !
को-कहाँ पुगे, छुटेको सम्झिएँ !!
सम्झिएर रुन्न अब
फेसबूक र साहित्यिक यात्रा
लगाव नभए पनि साहित्यबाट कोही टाढा रहन सक्ने रहेनछ । साहित्यका कुनै न कुनै विधाप्रति धेर-थोर सबैको आकर्षण हुने रहेछ । साहित्यिक सिर्जनामा संलग्न नभए पनि नजिकबाट माया गर्नेहरुको संख्या ठूलै रहेछ । अहिले मैले आफूलाई पनि यही कोटीमा पाउन थालेको छु ।
आउनोस् सबै मिली भाषा सुधारौं
संचारको विकाससँगै अन्य भाषाको बढ्दो प्रभाव र प्रयोगले नेपाली भाषाको शुद्धतालाई खल्बल्याउन थालेको छ । पछिल्लो समय नेपाली भाषामा हेलचेक्र्याईं पनि उत्तिकै देखिन्छ । ज्ञानको अभाव भनौं वा भाषाप्रतिको बेवास्ता, लेखाइ र बोलाइ दुबैमा प्रशस्तै देख्न र सुन्न पाइन्छ ।
संचार माध्यममा बोलीचालीको भाषामा समाचार दिनुपर्छ भन्ने नाममा भाषामाथि अन्याय हुन थालेको छ । सडकबाट शब्द टिपेर जथाभावी बोल्ने गर्नाले संचारमाध्यम र संचारकर्मीको स्तरमा ह्रास आएको मात्र नभई भाषासमेत बिगि्रन थालेको छ । नेपाली सिकेका विदेशीले हाम्रा संचारमाध्यमले प्रयोग गर्न थालेको भाषा नबुझ्ने भएका छन् । अरुका भाषा सिक्नु र जान्नुले व्यक्ति मात्र होइन, उसको मातृभाषा र प्रयोगको भाषालाई समेत संवृद्ध हुन सघाउ पुग्छ । तर, एउटा भाषाको शब्द अर्को भाषामा मिसाएर लेख्ने वा बोल्ने गरियो भने दुबै भाषाप्रति अन्याय गरेको ठहर्छ । कुनै पनि भाषामा लेख्नु वा बोल्नु उत्तिकै आदरयोग्य कुरा हुन् । तर, आफूले कसका निमित्त कुन भाषा बोलिरहेको छु भन्ने हरेकले बुझ्नै पर्छ । भाषाको एकोहोरो प्रयोग हुँदैन, लेख्नेले लेखेर वा बोल्नेले बोलेर मात्र यसको प्रकि्रया पूरा हुँदैन । लेख्ने वा बोल्नेको सुविधामा मात्र यो चल्न सक्दैन । लेखिएको कुरा पढ्नेले पनि सहज मान्नुपर्छ र लेखेर दिन खोजिएको सन्देश त्यसै रुपमा बुझिने हुनुपर्छ । त्यसैगरी बोल्नेका हकमा पनि यही सिद्धान्त लागू हुन्छ । अझ बोल्नेले हरेक अक्षरको उच्चारणमा ध्यान दिन सक्नुपर्छ ।
बोलीचालीका आधारमा मानिसको शिक्षा, ज्ञान र शिष्टता झल्किन्छ । अझ सार्वजनिक संचारमा काम गर्नेहरुले प्रयोग गर्ने शब्द उच्चारण र वाक्य संयोजनले उसको आफ्नो प्रतिष्ठा घटबढ पार्ने मात्र होइन, उसले काम गर्ने संस्थाकै इज्जत तल-माथि पार्नेछ । शब्द प्रयोग, वाक्य बनोट र उच्चारणका आधारमा विद्युतीय संचारमाध्यमको त श्रोता र दर्शकको संख्यामा समेत प्रभाव परिरहेको हुन्छ ।
यी त भाषासम्बद्ध संवेदनशीलताका कुरा मात्र भए । यस अतिरिक्त शब्द, वाक्य र उच्चारणका कारण फरक हुने सन्देशबाट पर्ने प्रभावको पाटो सानो हुँदैन । संचारमाध्यममा के लेखिन्छ वा के बोलिन्छ भन्ने कुराको अर्थ लेख्नु, भन्नु, बोल्नु र सुन्नुको परिधिभित्र सीमित हुँदैन । त्यसले पार्ने प्रभाव कता हो कता, विशाल हुन्छ । त्यसैले विश्वका कुनै पनि देशका कुनै पनि संचारमाध्यममा भाषाप्रतिको संवेदनशीलतालाई विशेष महत्व दिने गरेको पाइन्छ । अंग्रेजी भाषामा लेख्दा वा बोल्दा हामी जसरी लय, ताल, स्वरमा ध्यान दिनुपर्छ नत्र अर्कै अर्थ लाग्छ भन्छौं, नेपाली भाषामा पनि त्यस्तै हुन्छ । त्यसैले यहाँ वाक्य गठनका केही गलत नमुनाहरु प्रस्तुत गरिएको छ ।
वाक्य गठनका गलत नमुनाहरु
१. अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कबाट पाल्पातर्फ गइरहेको यात्रुबाहक बस अमराइमा सडकबाट खसी दुर्घटना भएको छ । सडकबाट ६० मिटर तल खसेकॊ बस राति ११ बजे दुर्घटना भएको हो ।
- माथिका दुईवटै वाक्य गलत छन् । बस खस्नु र दुर्घटना हुनु एउटै कुरा हो । तर, पहिलो वाक्यले बस खसिसकेपछि दुर्घटनामा परेको बताउँछ । त्यस्तै, दाश्रो वाक्यले बस पहिले खसेको र ११ बजे मात्र दुर्घटनामा परेको बताउँछ । बसले मान्छे नै बोक्छ । त्यसैले यात्रु बाहक भनिरहनुपर्दैन ।
यॊ समाचार यसरी पुनर्लेखन गर्दा राम्रो हुन्छः- अर्घाखाँची सदरमुकाम सन्धीखर्कबाट पाल्पा गइरहेको बस अमराइमा दुर्घटना भएको छ । बस राति ११ बजे सडकबाट ६० मिटर तल खसेको थियो ।
२. धनकुटाको डाँडाबजारमा रहेको पूर्वान्चलकै ठूलो रानी ताल संरक्षणको पर्खाइमा छ ।
- यो वाक्यले पूर्वान्चलमा धेरै रानी ताल छन्, तीमध्ये ठूलो रानी तालचाँहि संरक्षण गर्न आवश्यक छ भन्ने अर्थ दिन्छ ।
सही सन्देश दिन यो समाचारलाई पुनर्लेखन यसरी गर्न सकिन्छः- धनकुटाको डाँडाबजारमा रहेकॊ रानी ताल संरक्षणको पर्खाइमा छ । यो पूर्वान्चलकै ठूलो ताल हो ।
३. अन्तर्राष्ट्रिय संविधानविद् यशपाल घईले संविधान निर्माणसम्बन्धी सफल अन्तर्राष्ट्रिय प्रयासलाई उदाहरण मान्दै नेपालमा पनि संविधान निर्माण गर्नुपर्ने बताउनुभयो ।
- संविधान निर्माण गर्न उदाहरण खोज्ने हो भने सिनेमा निर्माणका उदाहरण पछ्याउने कुरै आउँदैन । त्यसैले संविधान निर्माणसम्बन्धी भनिरहुनपर्दैन ।
यो समाचारलाई यसरी छरितो बनाउन सकिन्छः-अन्तर्राष्ट्रिय संविधानविद् यशपाल घईले सफल अन्तर्राष्ट्रिय प्रयासलाई उदाहरण मान्दै नेपालमा पनि संविधान बनाउनुपर्ने बताउनुभयो ।
४. प्रहरीले सिराहाका राममनोहर यादवको घरबाट तीन किलो अवैध चरेस बरामद गरेको छ ।
- चरेस राख्ने अधिकार कसैलाई छैन । कसैले राख्छ भने त्यो स्वतः अवैध हो । लागूऔषध, बम, पेस्तोल र बन्दुक (सुरक्षकर्मीका बाहेक)लाई अवैध भनिरहनु पर्दैन ।
५. गैरकानुनी काम गरेको आरोपमा कपिलबस्तुका मोहन पाण्डेविरुद्ध प्रहरीले वारेन्ट जारी गरेको छ ।
- कानुनले नगर्न भनेको काम गैरकानुनी हो । यसको क्षेत्र विशाल छ । यस्तो वाक्यले मोहनको दोष के हो ? भन्ने खुल्दैन । किनभने पकेट मारेकोदेखि ज्यान मारेकोसम्मका काम गैरकानुनी हुन् । त्यसैले मोहनले चोरी, हत्या, बलात्कार, कुटपिट के गरेको हो ? त्यो खुलाउनुपर्छ ।
६. भोिलसम्म चल्ने नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले पार्टीको महाधिवेशनको मिति तोक्न सुझाव दिने अनुमान गरिएको छ ।
- यो वाक्यले त नेपाली कांग्रेस पार्टी भोिलसम्म चल्छ, त्यसपछि बन्द हुन्छ भन्ने सन्देश दिन्छ । तर, संवाददाताले भन्न खोजेको त्यस्तो होइन ।
त्यसैले भन्नुपर्छः- नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले पार्टीलाई महापधवेशनको मिति तोक्न सुझाव दिने अनुमान गरिएको छ । भेला भोिलसम्म चल्नेछ ।
७. नेपाल पत्रकार महासंघले चियापान र प्रभातफेरिजस्ता सिर्जनात्मक कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णय गरेको छ ।
- नेपाल पत्रकार महासंघको यो वक्तव्यलाई आधार मान्ने हो भने चियापान र प्रभातफेरिजस्ता कार्यक्रम सिर्जनात्मक हुन् । तर, खासमा चियापान र प्रभातफेरि औपचारिक कार्यक्रम हुन्, सिर्जनात्मक होइनन् । सिर्जना भनेको केही नयाँ बनाउने हो । भवन बनाउने, सडक खन्ने, पार्क बनाउने, पत्रिका प्रकाशन गर्नेजस्ता कामलाई सिर्जनात्मक भन्न सकिन्छ ।
८. निकुन्जभित्र गाई पसेको आरोपमा तीन जना सेनाले स्थानीय बासिन्दालाई कुटपिट गरेका छन् ।
- सेना र सैनिकको अर्थबारे पनि धेरैलाई भ्रम छ । सेना भनेको संगठन हो । त्यसैले सेना एक जना, तीन जना भन्ने नै हुँदैन । सेनामा काम गर्ने व्यक्तिलाई सैनिक भन्नुपर्छ । सैनिकलाई मात्र एक जना, दुई जना भन्न सकिन्छ । कुटपिट सेनाले गर्दैन, सैनिकले गर्न सक्छन् ।
त्यसैले भन्नुपर्छः-निकुन्जभित्र गाई पसेको आरोपमा तीन जना सैनिकले स्थानीय बासिन्दालाई कुटपिट गरेका छन् ।
९. क्यान्सरपीडित सुनसरीका मनीष घिमिरेलाई काठमाडौं कपनका मिथिला बरालले पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।
- यो वाक्य हेर्दा त सुनसरी जिल्ला नै क्यान्सरपीडित रहेछ भन्ने बुझिन्छ । तर, समाचारले भन्न खोजेको यसो होः- सुनसरीका क्यान्सरपीडित मनीष घिमिरेलाई काठमाडौं कपनका मिथिला बरालले पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।
१०. डाइमन्ड नेपाल इन्टरप्राइजेज्ले अमेरिकी कम्पनी एससी जोन्सन् एन्ड सन्स् इन्कबाट उत्पादित िझंगा भुसुना लामखुट्टे र साङ्ला लगायतविरुद्ध छर्किने रेड ब्रान्ड स्प्रे नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
- अमेरिकी कम्पनी एससी जोन्सन् एन्ड सन्स् इन्कले िझंगा भुसुना लामखुट्टे र साङ्ला उत्पादन गर्दोरहेछ । यो समाचारले त यस्तै सन्देश दिन्छ । शव्द संयोजन गलत हुँदा समाचारले यस्तै भ्रम दिन सक्छ ।
यो वाक्यलाई यसरी पुनर्लेखन गर्दा राम्रो हुन्छः- िझंगा भुसुना लामखुट्टे र साङ्ला मार्न प्रयोग हुने रेड ब्रान्ड स्प्रे नेपाली बजारमा आएको छ । अमेरिकी कम्पनी एससी जोन्सन एन्ड सन्स् इन्कले उत्पादन गरेको यो स्प्रे डाइमन्ड नेपाल इन्टरप्राइजेज्ले बजारमा ल्याएको हो ।
वाक्य गठन
- विराटनगरबाट प्राप्त समाचारअनुसार……… भनेर लेख्नु राम्रो होइन । किनभने विराटनगरबाट त जानकारी प्राप्त हुनसक्छ, जसलाई समाचार बनाउने जिम्मेवारी संवाददाताको हो । विराटनगरबाट पहिले नै समाचार आउँथ्यो भने संवाददाताले त्यसलाई फेरि समाचार किन बनाउनुपथ्र्यो र ! त्यसैले यस्तो अवस्थामा विराटनगरबाट प्राप्त जानकारीअनुसार भन्नुपर्छ ।
- विभक्तिः- विभक्तिको अनावश्यक प्रयोगले वाक्यलाई लामो र बोझिलो बनाउँछ । जस्तैः नयाँ नेपालको निर्माण गर्नका लागि सबै जनता जुट्नुपर्छ भन्नुभन्दा नयाँ नेपाल बनाउन सबै जुट्नुपर्छ भन्दा छरितो हुन्छ ।
- त्यस्तै, एड्सका बारेमा अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ भन्नुभन्दा एड्सबारे अन्तर्राष्ट्रिय सम्मेलन आज काठमाडौंमा सुरु भएको छ भन्नु उत्तम हुन्छ ।
- अनावश्यक शव्दः- धेरैजसो वाक्यमा कुरा र रहेका जस्ता शव्दको आवश्यकता नै पर्दैन । वैदेशिक रोजगार व्यवसाय नेपालको आर्थिक मेरुदण्ड बनेको कुरा व्यवसायीहरुले बताएका छन् । यो वाक्यमा कुरा अनावश्यक छ । त्यस्तैः नेपालमा करिब एक लाख १८ हजार भुटानी शरणार्थी रहेका छन् । यो वाक्यमा रहेका शव्द अनावश्यक रुपमा जोडिएको छ ।
बोझिला र क्लिष्ट शव्दले साहित्यलाई उन्नत बनाउला । तर, पत्रकारितामा सरल शब्द नै चाहिन्छन् । बताउने, जनाउने र दाबी गर्ने जस्ता शब्द पनि जथाभावी प्रयोग गर्नुहुँदैन ।
जस्तैः-रौतहटका जिल्ला वन अधिकृत हेम अर्यालले आफूलाई वन अतिक्रमणकारीहले धम्की दिएको बताउनुभयो । यो आरोप, दावी, गुनासो, तर्क अथवा जिकिर होइन । त्यसैले बताउनुभयो नै राम्रो हुन्छ ।
- प्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रविरोधीलाई दण्डित गर्ने बताउनुभयो । यो वाक्यमा बताउनुभयो भन्नुको सट्टा दृढता व्यक्त गर्नुभयो । अथवा प्रतिबद्धता जनाउनुभयो भन्दा राम्रो हुन्छ ।
- बरिष्ठ प्रजातन्त्रवादी नेता रामहरि जोशीले जनआन्दोलनको भावनाप्रति नेताहरु इमान्दार हुन नसकेको बताउनुभयो । यो वाक्यमा बताउनुभयो भन्नुको सट्टा आरोप लगाउनुभयो भन्नु राम्रो हुन्छ । आरोप व्यक्तिगत भए आक्षेप भन्न सकिन्छ ।
- परीक्षा नियन्त्रण कार्यालयले असारभित्र एसएलसीको नतिजा प्रकासित गर्ने जनाएको छ । जानकारी दिएको छ । यसो भन्नु ठीक छ ।
परीक्षा नियन्त्रण कार्यालय परीक्षाफल प्रकाशित गर्ने आधिकारिक निकाय भएकाले उसले नतिजा कहिले प्रकाशित हुन्छ भनेर जानकारी दिन्छ, जनाउँछ ।
- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सरकारले बैंकहरुलाई उचालेर उद्यमीमाथि अन्याय गरेको बताउनुभयो । यो वाक्यमा सरकारले यसो नगरे हुन्थ्यो भनेर विनय गरिएकोले बताउनुभयो को सट्टा गुनासो गर्नुभयो भन्नु ठीक हुन्छ ।
- सरकारले आन्दोलतरत पक्षसँग छलफल नगरी संविधान संसोधन गर्न लागेको भन्दै नेपाल आदिवासी जनजाति महासंघले असन्तुष्टि व्यक्त गरेको छ । आदिवासी जनजाति महासंघ आन्दोलनमा उत्रिएको संगठन हो । त्यस्तो संगठनले असन्तुष्टि व्यक्त गरेर मात्र बस्दैन, विरोधमै उत्रिन्छ । त्यसैले असन्तुष्टि व्यक्त गरेको छ को सट्टा आपत्ति, क्षोभ, आक्रोश व्यक्त गरेको छ भन्नुपर्छ ।
- कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीमा छलफल नगरेकोमा केन्द्रीय सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । यो वाक्यमा असन्तुष्टि ठीक छ । किनभने कोइरालाको निर्णयमा सदस्यहरुले सामन्यतयाः असन्तुष्टि व्यक्त गर्न अथवा गुनासोमात्र गर्न सक्छन् । त्यसलाई आपत्ति अथवा विद्रोहको रुपमा बुझ्नु अतिरन्जना हुन्छ ।
- बँदेलको मासु खाएर विरामी भएका पन्ध्रमध्ये सात जनाको मृत्यु भएको दावी जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराको छ । यसलाई दावीको सट्टा जानकारी दिएको छ भन्नु ठीक हुन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय मान्छे धेरै मर्छन् भनेर होडवाजीमा लागेको होइन, त्यसैले उसले दावी गर्दैन ।
- नेपाल सद्भावना पार्टीले संविधानसभा चुनावमा कम्तिमा २० सीटमा जित्ने दावी गरेको थियो । योचाहिँ होडवाजी नै हो, त्यसैले जानकारी होइन, दावी नै भन्नु ठीक हुन्छ ।
- जनतान्त्रिक तराई मुक्तिमोर्चा गोइतले संविधानसभा चुनाव बहिस्कार गर्ने बताएको छ । चुनाव बहिस्कार गर्ने कुरा सामान्य जानकारी होइन, त्यसैले यसलाई घोषणा भन्नु ठीक हुन्छ ।
वाक्य बनाउँदा प्रयोग गर्न हुने र नहुने
मन्त्रिमण्डलको सट्टा मन्त्रिपरिषद् प्रयोग गर्ने ।
(नेपालमा मन्त्रिपरिषद् (coucil of ministers) छ, मन्त्रिमण्डल छैन ।)
शिक्षा दिवसका दिनको सट्टा शिक्षा दिवसमा प्रयोग गर्ने ।
(दिवस र दिन एउटै हो ।)
तीन वर्षको अवधिमा को सट्टा तीन वर्षमा प्रयोग गर्ने ।
(तीन वर्ष आफैंमा अवधि हो ।)
घटना घट्योको सट्टा घटना भयो प्रयोग गर्ने ।
(घट्नुको अर्थ कम हुनु हो । घटना भएपछि त बढ्छ ।)
भूमिका निभाएको सट्टा भूमिका निर्वाह गरे प्रयोग गर्ने ।
(निभाउनुको अर्थ समाप्त गर्नु हो । जस्तै बत्ती निभाउनु ।)
मृतात्मा को सट्टा मृतकको आत्मा प्रयोग गर्ने ।
(मृतात्माले मरेको आत्मा भन्ने अर्थ लाग्छ । तर, आत्मा साँच्चै हुन्छ भने त्यो मर्दैन ।)
छुट्टाछुट्टै तीन ठाउँमाको सट्टा तीन ठाउँमा मात्र प्रयोग गरे हुन्छ ।
(तीन ठाउँ कहिल्यै पनि एकैठाउँ हुँदैनन् । त्यसैगरी छुट्टाछुट्टै तीन जना पनि लेख्नुहुँदैन ।)
विभिन्न १५ वटा संस्थाको सट्टा १५ वटा संस्था मात्र लेखे पुग्छ ।
(१५ वटा संस्था भनेपछि विभिन्न हुन् भन्ने स्वतः बुझिन्छ ।)
५० विद्यार्थीहरुको सट्टा ५० विद्यार्थी मात्र लेखे पुग्छ ।
(५० आफैंमा बहुवचन हो । त्यसैले 'हरु' आवश्यक छैन ।)
तीन दर्जन शिक्षक घाइतेको सट्टा ३६ शिक्षक घाइते लेख्नुपर्छ ।
(मान्छेलाई केरा अथवा चामलजस्तै दर्जन किलो र क्विन्टलमा नाप्नु मानवीय व्यवहार होइन ।)
एक दर्जन बढी बस रोकिएका छन् भन्नुको सट्टा एक दर्जनभन्दा बढी बस लेख्नुपर्छ ।
(एक दर्जन बढी भन्नुको अर्थ जति हो, त्योभन्दा थप एकदर्जन भन्ने बुझिन्छ ।)
मुडुलो टाउकोको सट्टा मुडुलो मात्र लेखे हुन्छ ।
(मुडुलो हुने टाउको मात्रै हो ।)
वारुणयन्त्रको सट्टा दमकल लेख्दा राम्रो ।
(दमकल सजिलोसँग बुझिन्छ ।)
मर्मत कार्य गर्नको सट्टा मर्मत गर्नमात्रै लेख्ने ।
(मर्मत आफैंमा कार्य हो ।)
जेसिज् र स्ववियुले संयुक्त रुपमा आयोजना गरेको भन्नुको सट्टा जेसिज र स्ववियुले गरेको भन्ने ।
(दुई वटा संस्था भनेपछि संयुक्त भन्नैपरेन ।)
दोहोरो भीडन्त लेख्नै पदैन । भीडन्त मात्रै लेखे हुन्छ ।
(एक्लै त भीडन्त नै हुँदैन ।)
हक र अधिकारका लागि भन्नैपर्दैन । अधिकारका लागि मात्र भने हुन्छ ।
(हक र अधिकार एउटै हो ।)
फेरि दोहोरिएको छ भन्नु राम्रो होइन । दोहोरिएको छ मात्र भने हुन्छ ।
(दोहोरिनु र फेरि हुनु एउटै कुरा हो ।)
आजभन्दा ६ महिनाअघि भन्नु उपयुक्त होइन । ६ महिनाअघि मात्र भने हुन्छ ।
(६ महिनाअघि भनेपछि आजभन्दा अघि नै हो ।)
विगत १५ वर्षदेखि पनि उचित होइन । १५ वर्षदेखि मात्र भने हुन्छ ।
(१५ वर्षदेखि भनेपछि विगत नै हो आगत होइन ।)
सात किलोमिटर टाढाको दुरीमा भन्नु पनि उचित होइन । सात किलोमिटर टाढा मात्र भने हुन्छ ।
(टाढा भनेपछि दुरी नै हो समय होइन ।)
पाँच किलोमिटर लामो मोटर बाटो भन्नु भन्दा मोटर चल्ने पाँच किलोमिटर बाटो भन्नुपर्छ ।
(पाँच किलोमिटर लामो मोटर बाटो भन्दा पाँच किलोमिटर लामो मोटर भन्ने बुझिन्छ । त्यस्तो मोटर कस्तो होला ?)
कोलम्बोमा विद्राहीको ताजा आक्रमण भन्नु भन्दा कोलम्बोमा विद्राहीको आक्रमण भन्नुपर्छ ।
(आक्रमण ताजा भएकैले त समाचार बनेको हो । पुरानो कुरा त समाचार नै बन्दैन ।)
नियमलाई अस्वीकार भन्नु भन्दा नियम अस्वीकार भन्दा हुन्छ ।
(लाई अनावश्यक छ ।)
बोलपत्र आह्वानको सूचना भन्नु भन्दा बोलपत्र आह्वान मात्र भने हुन्छ ।
(आह्वान आफैंमा सूचना हो ।)
मजदुरले दुई घन्टा नाकाबन्दी गरे भन्नु भन्दा मजदुरले दुई घन्टा नाका बन्द गरे भन्नुपर्छ ।
(नाकाबन्दी नाम हो, किरया त बन्द हो । त्यसैले नाकाबन्द, तालाबन्द भन्नुपर्छ ।)
विद्युत निर्माण भन्दा विद्युत उत्पादन भन्नुपर्छ ।
(विद्युत घर अथवा सडक होइन त्यसैले निर्माण हुँदैन उत्पादन हुन्छ ।)
मृतकलाई समवेदना हुँदैन । मृतकलाई श्रद्धान्जली हुन्छ ।
(श्रद्धान्जली मरेको मान्छेलाई दिइन्छ । समवेदना भनेको दुःख बाँड्ने हो । दुःख उनीहरुसँगै बाँडिन्छ जो बाँचेका छन् । त्यसैले मृतकका परिवारलाई समवेदना दिइन्छ ।)
वन तस्कर भन्नु उपयुक्त होइन । काठ तस्कर भन्नुपर्छ ।
(अवैध आयात-निर्यातलाई तस्करी भनिन्छ । वन स्थिर सम्पत्ति हो, यसलाई आयात-निर्यात गर्न सकिँदैन । काठ भने तस्करी हुन्छ ।)
शुद्धाशुद्धिका न्यूनतम सर्त
- पहिलो र बीचको नाम जोडेर लेख्ने । (गिरिजाप्रसाद/पुष्पकमल/झलनाथ/कृष्णबहादुर)
- छोटो नाम दीर्घ लेख्ने । (बीपी/केपी/सीपी/सीके)
- सामान्यतया महिलाको नामको पहिलो अक्षर दीर्घ लेख्ने । (सीता/गीता/मीना)
- महिलाको नामको बीचको अक्षर ह्रस्व लेख्ने । (प्रमिला/कविता/सुनिता/अनिता/)
- सामान्यतया पुरुषको नाम ह्रस्व लेख्ने । (गिरिजाप्रसाद/कुलचन्द्र)
- सामान्यतया थरको पहिलो र बीचको इकार-उकार ह्रस्व र पछाडिको इकार दीर्घ लेख्ने । (राई/भट्टराई/तिमिल्सना/पन्थी/कार्की/कोइराला/अधिकारी)
- 'सर्वनाम' सबै दीर्घ लेख्ने । (हामी/तिमी/उनी/यिनी)
- भइरहेको घटना बुझाउने शब्द ह्रस्व हुन्छ । (भइरहेको/आइरहेको/गइरहेको/गुडिरहेको/खाइरहेको/खेलिरहेको)
- अंकलाई अक्षरमा लेख्दा अन्त्यका इकार सबै दीर्घ लेख्ने । (दुई/तीन/उनन्तीस/त्रिचालीस/असी/बयासी)
- 'अव्यय' ह्रस्व लेख्ने । (हिजो/भोलि/अस्ति/माथि/वारि/पारि/वारिपारि/पल्लातिर/यतापट्टि/उतापट्टि/भित्र/बाहिर/ अगाडि/पछाडि/अघि/पछि/अघिपछि)
- यी शब्द ह्रस्व लेख्ने । (पनि/नि/हुन त/किनकि/अनि/प्रति/देखि/)
- 'हरु/अरु' दीर्घ लेख्ने । (हामीहरु/उनीहरु/तिनीहरु/अनुरुप/प्रतिरुप)
- नेपालका सबै जिल्ला र अंचलका साथै सामान्यतया ठाउँका नामका सुरु र बीचका इकार-उकार ह्रस्व र अन्त्यका इकार-उकार दीर्घ लेख्ने ।
(ललितपुर/सिन्धुली/कैलाली/सप्तरी/सर्लाही/धादिङ/नुवाकोट/रसुवा/धनकुटा/महोत्तरी/ओखलढुंगा/बैतडी)
- 'राष्ट्रिय' बाहेक 'इय' प्रत्यय लागेर बन्ने सबै शब्द दीर्घ लेख्ने ।
(केन्द्रीय/स्थानीय/जातीय/विचारणीय/उदाहरणीय/दयनीय/भारतीय/स्तरीय)
- 'इत' पत्यय लागेर बन्ने सबै शब्द ह्रस्व लेख्नॆ । (केन्द्रित/प्रमाणित/अनुमानित/प्रकाशित/सुरक्षित)
- 'इक' पत्यय लागेर आउने सबै शब्द ह्रस्व लेख्ने ।
(राजनीतिक/प्रामाणिक/वैदेशिक/रणनीतिक/साप्ताहिक/बौद्धिक)
'करण' प्रत्यय लागेर आउने सबै दीर्घ लेख्ने । (प्रमाणीकरण/विश्वव्यापीकरण/व्यापारीकरण/विकेन्द्रीकरण)
उष्णीकरण)
- 'शिक्षा'बाहेक 'क्ष'को अगाडि आउने सबै इकार-उकार दीर्घ लेख्ने । (परीक्षा/दीक्षा/सूक्ष्म/तीक्ष्ण)
- 'मन्त्री' जोडेर दीर्घ लेख्ने । (अर्थमन्त्री/गृहमन्त्री/वनमन्त्री/शिक्षामन्त्री)
- 'मन्त्रालय' जोडेर लेख्ने । (अर्थमन्त्रालय/गृहमन्त्रालय/शिक्षामन्त्रालय)
- 'मन्त्री' र 'परिषद्' जोडेर ह्रस्व लेख्ने । (मन्त्रिपरिषद्)
अत्यधिक प्रयोगमा आइरहने शब्द यस्तो लेख्ने
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, संविधानसभा, सभासद्, प्रधानन्यायाधीश, महासचिव, राजदूत, अन्तर्राष्ट्रिय, नीति, रणनीति, मूल्यवृद्धि, सामग्री, पूर्ण, सम्पूर्ण, सम्पत्ति, सहकर्मी, संवाददाता, व्यक्ति, प्रतिव्यक्ति, कम्युनिस्ट, भिडन्त, विश्लेषक, समिति, कमिटी, अमेरिकी, कानुन, सुरु, जनजाति, जाति, आदिवासी, वाणिज्य, हिन्दू, तालिम, किलोमिटर, उपाधि, जनशक्ति, स्थानीयबासिन्दा, सहमति, सहभागी, सहभागिता, दुर्घटना, व्यावसायिक, आपराधिक, विस्फोट, पानी








