गजल लेखेँ

दंग्याएर मलाई तिमी, ठुस्किएको गजल लेखेँ !

फकाउँदा मैले अनि, मस्किएको गजल लेखेँ !!


हात समाइ बजारमा, हिँड्या देख्दा बाआमाले !

डरै डरले मुखाकृति, खस्किएको गजल लेखेँ !!


भेट्ने निहुँमा मेलापात, कहिलेकाहीँ वनभोज जाँदा !

भान्से बसी खानेकुरा, पस्किएको गजल लेखेँ !!


सहरबाट घर आउन, वाचाभन्दा ढिला हुँदा !

सम्झिएर मुटु तिम्रो, चस्किएको गजल लेखेँ !!


पर्खि बस्थ्यौ चौतारीमा, भेट नहुँदा मुर्मुरिन्थ्यौ !

सपनीमा मलाई देख्दा, झस्किएको गजल लेखेँ !!


  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

बिर्सियौ कि

एकैछिन् नदेख्दा नि,
सक्सकाएको बिर्सियौ कि !

भेट्नलाई घरको ढोका,
ढक्ढकाएको बिर्सियौ कि !

सोधीखोजी गर्थे हामीलाई,
अक्मकाएको बिर्सियौ कि !

डर मानी झूठ बोल्दा,
भक्भकाएको बिर्सियौ कि !

निदाएथ्यौ काखमा मेरो,
झक्झकाएको बिर्सियौ कि !

जिउको धुलो पालैपालो,
टक्टकाएको बिर्सियौ कि !

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

अचेल !

तिम्रा बारे बजारमा, हल्ला अनेक सुन्छु अचेल !
पत्याउनै गाह्रो हुन्छ, दुबै कान थुन्छु अचेल !!

कुरा काट्छन् अनेथरि, खोज्छन् भन्न मलाई नै !
देखाउन चोखो तिम्लाई, ताना अनेक बुन्छु अचेल !!

खुच्चिङ भन्छन् कतिपय, सही अझै थाहा छैन !
दोष मेरो हो कि तिम्रो, मनमनै गुन्छु अचेल !!

भन्नेहरु भन्छन् केके, साँच्चै हो वा आरोपमात्रै !
देखाउँछु सबलाई खुसी, भित्र धेरै रुन्छु अचेल !!

आज एउटासँग देखे, भोलि अर्कैसँग भन्छन् !
सताउँछ यादले अनि, आँसुले मन धुन्छु अचेल !!

दोष छैन मेरो तर, तिम्रै कारण दोषीजस्तै !
घृणा पाउँछु सबैबाट, भट्टीमा नै हुन्छु अचेल !!

पराइ भए मित्रहरु, कस्तो गल्ती गर्र्यौ कुन्नि !
एक्लो देख्छु आफूलाई, साथी रक्सी चुन्छु अचेल !!

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

आउँला

मुटुभरि माया, बोकेर आउँला !
भड्किन दिन्न, रोकेर आउँला !!

नजानु कतै, पर्खेर बस्नु !
भेट्नलाई दिन, तोकेर आउँला !!

लड्दै उठ्दै, हातपाउ टेकी !
उफ्रँदै टाउको, ठोकेर आउँला !!

भूलेमा बाटो, गर्छु सोधखोज !
घरको ठेगाना, घोकेर आउँला !!

लाग्छ डर, देख्लान् भन्ने !
होलान् अरु, खोकेर आउँला !!

तीनपल्ट ढोका, ढकढक गर्छु !
लजाउँदै जिब्रो, टोकेर आउँला !!

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

होला

मुटु टुक्रेजस्तै भयो, माया नपाएर होला !

जुनतारा दिउँला भनी, कसम नखाएर होला !!


हरियाली वन पाखा, देख्छु सबै उजाड !

शून्य भयो चौतारी, तिमी नआएर होला !!


पखिर्रहेछु अझै पनि, मरिसक्या छैन आशा !

हुनै छाड्यो भेट, तिम्ले नचाहेर होला !!


दिन्न दोष तिमीलाई, जानिएन माया गर्न !

दिनैपिच्छे सुक्न थालेँ, भेट्न नधाएर होला !!


माया भन्ने कस्तो, बनाइदिने रै'छ रोगी !

एक्लै बसी विरहका, गीत नगाएर होला !!

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

भुल्दिन म

प्रसव हुँदा पोखिएका, खुन भुल्दिन म !

दश धारा चुसाएको, थुन भुल्दिन म !!


बाआमा नै पहिलो गुरु, क ख चिनाएथे !

स्लोक भन्दै पढाएको, धुन भुल्दिन म !!


बाल्यकालमा जिद्दि कस्तो, माग कतिकति !

अभाव हुनै नदिएको, गुण भुल्दिन म !!


घरबाटै रासन पानी, माया पनि कस्तो !

पठाएको दाल चामल, नुन भुल्दिन म !!


इच्छाहरु अनेकौं छन्, बाआमाका कठै !

पढाउन बेचेका ती, सुन भुल्दिन म !!


  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

फर्की हेर्दा

अर्थहीन नाता मात्रै, गाँसिएछ फर्की हेर्दा !

उनकॊ फोटो बेकारमा, टाँसिएछ फर्की हेर्दा !!


धरातल आफैं उनले, भुलिदिइन् मैले होइन !

बेला नभई मध्यरातमै, बासिएछ फर्की हेर्दा !!


जुन खोज्न पातालमा, खनिरहिन् सधैं उनले !

सपनीको महल पनि, भासिएछ फर्की हेर्दा !!


लोभलाग्दो छुट्टै सुन्दर, संसारको इच्छा थियो !

संगालेका रहर समेत, मासिएछ फर्किहेर्दा !!


मनभित्र धेरै जोडेँ, गगनचुम्बी महल पनि !

मक्किएका काठ जस्तै, नासिएछ फर्की हेर्दा !!


रहरहरु अनेक थिए, केवल मन मस्तिष्कमा !

थाकिसक्या घाउ समेत, तासिएछ फर्की हेर्दा !!


सर्वथोक ठान्थे उनलाई, भूल्थेँ सारा पीरहरु !

पीडा लुकाई अन्जानमै, हाँसिएछ फर्की हेर्दा !!


  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

आएनछ गणतन्त्र

भोकालाई अघाइ दिन, आएनछ गणतन्त्र !

दुःख-कष्ट भगाइ दिन, आएनछ गणतन्त्र !!


पीरव्यथा जनताका, सुन्नेसमेत कोही भएनन् !

निमुखालाई सघाइ दिन, आएनछ गणतन्त्र !!


गरीवको आङमा हेर, छैन ढाक्ने लुगा पनि !

नांगालाई लगाइ दिन, आएनछ गणतन्त्र !!


स्वार्थी भए नेताहरु, पेवा ठाने देशलाई !

स्वार्थलाई बगाइ दिन, आएनछ गणतन्त्र !!


निराशा पो बढ्यो झनै, कस्तो रै'छ गणतन्त्र !

जोश-जाँगर जगाइ दिन, आएनछ गणतन्त्र !!


  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

गइन् उनी

फर्काउन बाटो मैले, घेरे पनि गइन् उनी !

अह्राएका सबै कुरा, टेरे पनि गइन् उनी !!


सँगै जिउने सँगै मर्ने, कसम पनि खाइयो !

जतिसुकै चिठ्ठी पत्र, केरे पनि गइन् उनी !!


दंग्याएझैं लाग्या थियो, ठुस्किएर जाँदा !

दोबाटोमा बसी जति, हेरे पनि गइन् उनी !!


बाँडेकै हो भएजति, भेट हुँदा मनका कुरा !

धोखा दिन्न भनीभनी, खेरे पनि गइन् उनी !!


बाँकी थे'न उनका इच्छा, पूरा गर्न मैले !

मौका मिल्दा अँगालोमै, बेरे पनि गइन् उनी !!


  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS