गजल लेखेँ

दंग्याएर मलाई तिमी, ठुस्किएको गजल लेखेँ !

फकाउँदा मैले अनि, मस्किएको गजल लेखेँ !!


हात समाइ बजारमा, हिँड्या देख्दा बाआमाले !

डरै डरले मुखाकृति, खस्किएको गजल लेखेँ !!


भेट्ने निहुँमा मेलापात, कहिलेकाहीँ वनभोज जाँदा !

भान्से बसी खानेकुरा, पस्किएको गजल लेखेँ !!


सहरबाट घर आउन, वाचाभन्दा ढिला हुँदा !

सम्झिएर मुटु तिम्रो, चस्किएको गजल लेखेँ !!


पर्खि बस्थ्यौ चौतारीमा, भेट नहुँदा मुर्मुरिन्थ्यौ !

सपनीमा मलाई देख्दा, झस्किएको गजल लेखेँ !!


  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

बिर्सियौ कि

एकैछिन् नदेख्दा नि,
सक्सकाएको बिर्सियौ कि !

भेट्नलाई घरको ढोका,
ढक्ढकाएको बिर्सियौ कि !

सोधीखोजी गर्थे हामीलाई,
अक्मकाएको बिर्सियौ कि !

डर मानी झूठ बोल्दा,
भक्भकाएको बिर्सियौ कि !

निदाएथ्यौ काखमा मेरो,
झक्झकाएको बिर्सियौ कि !

जिउको धुलो पालैपालो,
टक्टकाएको बिर्सियौ कि !

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

अचेल !

तिम्रा बारे बजारमा, हल्ला अनेक सुन्छु अचेल !
पत्याउनै गाह्रो हुन्छ, दुबै कान थुन्छु अचेल !!

कुरा काट्छन् अनेथरि, खोज्छन् भन्न मलाई नै !
देखाउन चोखो तिम्लाई, ताना अनेक बुन्छु अचेल !!

खुच्चिङ भन्छन् कतिपय, सही अझै थाहा छैन !
दोष मेरो हो कि तिम्रो, मनमनै गुन्छु अचेल !!

भन्नेहरु भन्छन् केके, साँच्चै हो वा आरोपमात्रै !
देखाउँछु सबलाई खुसी, भित्र धेरै रुन्छु अचेल !!

आज एउटासँग देखे, भोलि अर्कैसँग भन्छन् !
सताउँछ यादले अनि, आँसुले मन धुन्छु अचेल !!

दोष छैन मेरो तर, तिम्रै कारण दोषीजस्तै !
घृणा पाउँछु सबैबाट, भट्टीमा नै हुन्छु अचेल !!

पराइ भए मित्रहरु, कस्तो गल्ती गर्र्यौ कुन्नि !
एक्लो देख्छु आफूलाई, साथी रक्सी चुन्छु अचेल !!

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS