फेसबूक र साहित्यिक यात्रा

लगाव नभए पनि साहित्यबाट कोही टाढा रहन सक्ने रहेनछ । साहित्यका कुनै न कुनै विधाप्रति धेर-थोर सबैको आकर्षण हुने रहेछ । साहित्यिक सिर्जनामा संलग्न नभए पनि नजिकबाट माया गर्नेहरुको संख्या ठूलै रहेछ । अहिले मैले आफूलाई पनि यही कोटीमा पाउन थालेको छु ।

नढाँटी भन्नुपर्दा केही समयअघिसम्म साहित्यप्रति ममा कुनै रुची थिएन । पहिले-पहिले निःशुल्क हात लागेमा, फुस्रद मिलेमा र मनलागेमा कथा,उपन्यास पढिन्थ्यो । तर, गीत, कविता र गजलतिर फिटिक्कै रुची थिएन । पछिल्ला केही महिनादेखि अनायासै ममा गजल र कविताप्रति रुची बढेको छ । र, सकी नसकी कोर्ने जाँगर पनि उत्तिकै बढेको छ । मलाई गजल र कविता लेखनप्रति जाँगर बढाएको फेसबूकले नै हो । गीत, कविता र गजलको महत्व नबुझेर हो वा के हो ? यसअघि ममा यसप्रति फिटिक्कै रुची थिएन । स्कूले जीवनमा कुर्कुरे बैंशसँगै साथीभाइबीच माया-पि्रती गाँस्ने होड नै चल्थ्यो । त्यो होडसँगै साइरी लेखेर वा अरुका चोरेरै भए पनि डाइरी बनाउने होड पनि उत्तिकै चल्थ्यो । तर, म न त माया-पि्रती गाँस्ने होडमा लागेँ न त साइरी लेख्नै । त्यस्ता कार्यप्रति त घृणा नै थियो भन्दा पनि हुन्छ ।
पत्रकारितामा होमिएको यसबीचमा गीत, कविता र गजल लेखनमा रुची भएको भए धेरै पत्रपत्रिकामा सहजै प्रकासित गर्न पनि सकिन्थ्यो । पत्रकारितालाई नै जीवन निर्वाहको भरपर्दो माध्यम बनाउन थालेको १२ वर्षे अवधिमा नाम चलेका राष्ट्रियस्तरका केही साप्ताहिक पत्रिकामा 'आफ्नै हात: जगन्नाथ' भनेझैंको हैसियतमा रहेर पनि काम गरियो । चाहेको भए तीमात्र होइन सम्पर्क र सम्बन्धका आधारमा अन्यत्र पनि प्रकासित गर्न सकिन्थ्यो । तर, फिटिक्कै रुची भएन । शायद महत्व नबुझेकाले पनि होला । यतिसम्मकी प्रकाशनका लागि थुपि्रने अरुका धेरै गीत, कविता र गजललाई रद्धीको टोकरीमा फ्यालियो । र, प्रकाशनका लागि दबाब आउँदा कत्ति न धेरै बुझेझैं गरी नानाथरी कमजोरी औंल्याउँदै टारियो पनि । अहिले सम्झँदा आश्चर्य लाग्छ । भन्नेहरु भन्छन्-मानेछ प्रेममा फसेपछि गीत कविता र गजल लेख्न थाल्छ । ममाथि पनि अहिले धेरै साथीभाइ र हितैषीको यही आरोप छ । जुन विल्कुलै गलत छ । मसँग लामो संगत गरेका र नजिकबाट चिन्नेहरु पनि अहिले ममा यसरी कविता र गजलप्रतिको आकर्षण बढेको देख्दा अचम्ममा पर्छन् ।
फेसबूकबाटै चिनेका कतिपयले त साँच्चै कवि नै पो रहेछ भन्ने पनि ठान्दारहेछन् । जुन हुँदै होइन । मलाई न त कसैको मायाजालमा पर्नु वा कसैलाई पार्नुछ । न त साहित्यकारका रुपमा परिचय बनाउनु नै छ । यी दुबै मेरा उद्धेश्य हुँदै होइनन् । मैले त फुस्रदको समयलाई त्यसै खेर फाल्नुभन्दा दुई-चार अक्षर जोडेर केही लेखूँन भनेर मात्र लेखनलाई अघि बढाइरहेको छु । रुची बढे पनि मैले पटक-पटक स्वीकार्दै आएको कुरा के हो भने ममा गीत, कविता र गजल लेखनको सैद्धान्तिक पक्षबारे फिटिक्कै ज्ञान छैन । हुन पनि यसअघि रुची भएको भए पो ज्ञान हुन्थ्यो होला । तर, यथार्थ भन्नुपर्दा फेसबूकमै परिचित-अपरिचित मित्रहरुका साथै आदर गर्नुपर्ने तहका कतिपय साहित्यकारहरुकै सिर्जना पढ्दै जाँदा ममा पनि लेखूँलेखूँ लाग्न थाल्यो । फेसबूकमा मैले पनि धेरै हदसम्म मजस्तै सिकारु नै पाएँ । यसो भनेर मैले सम्मान गर्नुपर्नेको अवमूल्यन गर्न खोजेको भने हुँदै होइन । उहाँहरुको प्रेरणा र सिर्जनाले पनि मलाई उत्साही बनाएको हो । तर, खास भन्नुपर्दा कतिपय मित्रले लेखेको देख्दा त्यति 'म पनि लेख्न सक्छु नि' भन्ने ठानेर पनि लेख्न थालेको हुँ । हुनसक्छ दिन-रात शब्द काटकुट र जोडजाड गर्ने नै मुख्य काम भएकाले पनि मलाई केही हदसम्म सजिलो बनायो । मैले सुरुमा आफैंले काम गराइका क्रममा भोग्नुपरेका तीता-मीठा अनुभवलाई लेखेँ त्यसपछि देशभक्तीका भाव बोकेका कविता र गजल (गजल नभएको पनि हुनसक्छ) लेखेँ । माया-प्रेमका बारेमा जत्ति लेख्ने कोसिस गरे पनि अप्ठ्यारो अनुभूति हुन्थ्यो । पछिल्ला समयमा माया-प्रेमका बारेमा पनि लेख्ने नै हो भने पक्कै सक्छु होला भन्ने लागेर मात्र कोर्न थालेको हुँ ।
वास्तवमै फेसबूकलाई कतिपयले विकृत पनि बनाएका छन् । कतिका लागि अरुलाई दुःख दिएर मनोरजन गर्ने माध्यम पनि बनेको छ । र, धेरैका लागि बरालिएर समय खेर फाल्ने थलो बनेको छ । तर, मलाई त फेसबूकले साहित्यिक यात्रातिर डोर्याउन मद्धत गरेको छ । सुरुका दिनमा मैले लेख्दा अफिसमा पनि धेरैले गिज्याउँथेँ । तर, अहिले अफिसमै पनि कविता र गजल लेख्ने होड चलेको छ । यतिसम्म कि मैले सोच्नसमेत नसक्ने सहकर्मीहरुले पनि फेसबूकमा कविता लेख्न थालेका छन् । त्यतिमात्र होइन कतिपय मित्रहरुले त दोहोरी खेल्न चुनौतीसमेत दिन थालेका छन् । यो त मेरो लागि गर्वको कुरा हो । कमसे कम मित्रहरु पनि सिर्जनशीलतातर्फ आकर्षित त भए ।


- निलबहादुर खड्का
समाचार सम्पादक तथा सिफ्ट इन्चार्ज (रात्री डेस्क)
सगरमाथा टेलिभिजन अनामनगर काठमाडौं ।

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

2 comments:

भगवती वस्नेत said...

अहा!!अति सत्य र सान्दर्भिक लेख !!सत्य कुराको सबैले अनुसरण गर्नुपर्छ!!

Neel Khadka said...

Thank You Hajur

Post a Comment