अरु मुलुकमा जस्तै केही वर्षदेखि नेपालमा पनि चौबीसै घण्टा समाचार दिने टेलिभिजन च्यानलको सुरुवात भएको छ । नामै किटेर भन्ने हो भने सगरमाथा, एभिन्युज र एबीसी टेलिभिजन समाचार च्यानलका रुपमा साचालनमा छन् । मूलतः यी समाचारमूलक च्यानल हुन् । र यिनीहरुले एउटा खास स्थान पनि बनाइसकेका छन् । अझै समाचारमूलक च्यानलकै रुपमा केही च्यानल थपिने क्रममा छन् । नेपालमा समाचारको ठूलो मागमात्र छैन, समाचार हेर्ने र त्यसैअनुसार मत बनाउने बानी पनि बनिसकेको छ । यसमा अरु च्यानलको पनि भूमिका नभएको होइन । तर, भर्खरै खुलेका समाचारमूलक च्यानलको भूमिका अतुलनीय छ । हो, टेलिभिजन संसारकै सबैभन्दा प्रभावकारी माध्यममा पर्छ । तर, अहिले हामी जुन स्रोत, साधन र वातावरणमा काम गरिरहेका छौं, त्यो संस्था विकासका लागि नै बाधक बनिरहेका छन् । हुन त छोटो अवधिमै धेरै अपेक्षा गर्न सकिन्न । तर, स्थिति कस्तो छ भने अहिले नै यी च्यानलले कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ । स्वदेशी च्यानलको मात्र होइन, यिनिहरुले विदेशी च्यानलसँग पनि प्रतिस्पर्धा गर्नु परिरहेको छ । तर, अप्ठयारो कस्तो छ भने यी च्यानलहरु स्वयम सिक्दैछन् । यस्तो बेलामा झन कठिन हुन्छ प्रतिस्पर्धा गर्न । तर, नगरी हुन्न प्रतिस्पर्धा । कम्तीमा अस्तित्व रक्षाका लागि नै सही । तर, प्रतिस्पर्धाको कुनै विकल्प छैन । एकातिर आर्थिक अवनति अनि अर्कातिर च्यानल चलाउँदै सिक्दै गर्नुपर्नाको पीडा । नयाँ गाडी किनेर ड्राइभिङ सिक्न थालेको जस्तो । हुन त यसरी पनि काम हुन्छ र भइरहेछ । तर कस्तो काम यहानिर ठूलो प्रश्न उठछ । र यहिँनेर हामी सबैले विचार गर्नुपर्छ कि हामी काम कस्तो गर्ने ? काम चलाउ काम गर्ने कि चलाउनका लागि गर्ने ? वा राम्रो काम गर्ने ? निश्चय नै यति सबै 'अप्सन' दिएर सोध्ने हो भने सबैले भन्छन्-हामी राम्रो काम गर्ने । त्यसो भए फेरि हेक्का राख्नुपर्छ राम्रो काम निरपेक्ष ढंगबाट हँुदैन । त्यसका लागि मूल्य चूकाउनु पर्छ । दक्ष जनशक्तिबाट मात्र राम्रो कामको अपेक्षा गर्न सकिन्छ । कुनै पनि संस्था कति पुरानो छ भन्ने कुराले अब खासै मतलब राख्दैन, अब कुन संस्थासँग कति अनुभवी मानिस छन् भन्ने कुराले बढी महत्व राख्छ । केही समययता नेपाली च्यानल र तिनमा काम गर्ने कर्मचारी-पत्रकारलाई नियालेर हेर्ने हो भने अत्यन्त कम अनुभवी र आलाकाँचा ब्यक्तिबाट काम लिइरहेको अनुभव गर्न सकिन्छ । कतिपय सन्दर्भमा अरु समाचार माध्यामको तुलनामा अत्यन्त निम्नस्तरीय रिपोर्टिङ भएको पनि हामी पाउँछौं । तर, किन यस्तो भयो भनेर खासै ध्यान दिँदैनौं । जसले गर्दा गल्ती बारम्बार दोहोरिरहन्छ । हाम्रो अत्यन्त सरल मान्यता छ कि 'बुम' समाउन सक्ने मानिस भए पुग्छ रिपोर्टिङका लागि । यो मान्यताले हामीले बारम्बार धोका खाएका छौं र पनि हामीमा चेत आएको छैन । हामी किन यसो गरिरहेका छौं ? के अनुभवहीन मानिस राख्दा हुने थोरै आर्थिक फाइदाले वा 'राम्रो' मान्छेको बदलामा 'हाम्रो' मान्छे राख्नुपर्छ भन्ने बाध्यताले । समाचार निर्माणको आधार नै लंगडो भएपछि समाचार कस्तो बन्ला ? अनुभवहीनबाट स्तरीय रिपोर्टिङको अपेक्षा गर्न सकिन्न । यही नियम लागू हुन्छ टेलिभिजनको कार्यक्रम प्रस्तुतकर्ताहरुमा पनि । अब हामीले समाचार 'पढ्ने' होइन समाचार 'भन्ने' वातावरण बनाउनु पर्छ, ताकि दर्शकले सजिलै समाचार पत्याउन् । समाचार अलि भर्खरको मानिसले 'पढेको' भन्दा अलि पाको मानिसले 'भनेको' नै पत्यारिलो हुन्छ, नेपालीबाहेक विदेशी च्यानलले यसै गरेको पाइन्छ । यी सबै कामका लागि एउटा असल ब्यवस्थापकले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम संस्थामा काम गर्ने पत्रकार-कर्मचारीको मनोवल बृद्धि नै हो । आधुनिक जमानामा मानव ब्यवस्थापन सबैभन्दा ठूलो काम हो । पत्रकार-कर्मचारीको मनोवल उच्च छ वा छैन भन्ने कुराको निक्र्यौल ती संस्थाको कामबाटै थाह हुन्छ । कुनै संस्था माथि आउने र कुनै पछि पर्नुको कारण के हो कुनै संस्थाको पत्रकार 'हसिला' र 'उच्च मनोवल' भएका देखिने अनि कुनै संस्थाको पत्रकार हेर्दै 'विरक्तलाग्दो' देख्नुको कारण के हो ? पत्रकार कर्मचारी खुसी हुनु भनेको काममा गुणात्मक प्रगतिमात्र होइन, त्यो संस्थाको इज्जत बाहिर पनि राम्रो हुनु हो ।
Subscribe to:
Post Comments (Atom)
2 comments:
yahi ta sabse muskil kaam ho
Bhasa sudharna ko k
Post a Comment